नियम ११५
सजाय सम्बन्धी कार्यविधि
: (१) प्रहरी कर्मचारीलाई सजायको आदेश दिनुअघि कारबाही गर्न लागिएको व्यहोरा उल्लेख गरी हुन सक्ने सजाय समेत खुलाई लिखित सूचना दिई निजलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्नेछ । त्यस्तो लिखित सूचनामा निजउपर लगाइएको आरोप स्पष्ट रूपले किटिएको हुनु पर्दछ । साथै प्रत्येक आरोप कुन तथ्य र कारणमा आधारित छ सो समेत खुलाउनु पर्नेछ । आरोप लागेको प्रहरी कर्मचारीले त्यस्तो सूचनामा उल्लिखित म्यादभित्र आफ्नो सफाइ र प्रस्तावित सजायको सम्बन्धमा लिखित स्पष्टीकरण पेश गर्नु पर्नेछ ।
(२) भागी पत्ता नलागेको वा अरू कुनै कारणले सम्पर्क स्थापित गर्न असम्भव भएको प्रहरी कर्मचारीको सम्बन्धमा प्रहरी सेवाबाट हटाउन वा वर्खास्त गर्दा अनुसूची—१४ मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ । तर नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भइसकेको वा ऐनको दफा ३३क., ३३ख. र ३४ बमोजिमको अपराध गरेको प्रहरी विशेष अदालतबाट ठहर गरी कैदको सजाय पाएको कुनै प्रहरी कर्मचारीलाई गर्न लागेको सजायको बारेमा सूचनासम्म दिए पुग्नेछ ।
(३) सजायको आदेश दिन पाउने अधिकारीले कुनै प्रहरी कर्मचारीले नियम १११, ११२ र ११३ मा उल्लिखित कसूर गरेको सम्बन्धमा जाँचबुझ गराउन आवश्यक ठानेमा त्यस्तो अधिकारी स्वयं वा अन्य कुनै अधिकृतद्वारा जाँचबुझ गर्न वा गराउन सक्नेछ । जाँचबुझ गर्ने अधिकारीले आवश्यकता अनुसार सम्बन्धित प्रहरी कर्मचारीसँग सोधपुछ गरी कारण सहित आफ्नो प्रतिवेदन तथा भएको सबुद प्रमाण समेत पेश गर्नु पर्नेछ ।
(४) कुनै प्रहरी कर्मचारीमाथि लागेको कुनै अभियोगको जाँचबुझ गर्नु परेमा सजायको आदेश दिन पाउने अधिकारीले जाँचबुझ समाप्त नहुन्जेलसम्म त्यस्तो प्रहरी कर्मचारीलाई निलम्बन गर्न सक्नेछ । यसरी निलम्बन गर्दा निलम्बन गर्नुको आधार र कारण स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम गरिने निलम्बनको अवधि छ महिनाभन्दा बढी हुने छैन । निलम्बन अवधिमा निज उपरको कारबाहीको किनारा लगाउनु पर्नेछ ।
(६) उपनियम (४) बमोजिम कुनै पनि प्रहरी कर्मचारीलाई निलम्बन गर्नु पर्दा देहायको अवस्था विद्यमान हुनु पर्नेछ :
(क) निलम्बन नगरी ओहोदाको काम गर्न दिँदा झुट्टा प्रमाण सङ्कलन गर्न सक्ने वा आपूm विरुद्धको सवुद प्रमाण गायब वा नष्ट गर्न सक्ने देखिएमा, वा
(ख) निलम्बन नगरी ओहोदाको काम गर्न दिँंदा थप सरकारी हानी नोक्सानी हुने सम्भावना देखिएमा, वा
(ग) कुनै प्रहरी कर्मचारीले गरेको कार्यको कारणले निजलाई निलम्बन नगरे सङ्गठन भित्रका कर्मचारीहरूमा नैराश्यता, उत्तेजना आउने वा जनमानसमा नकारात्मक असर पर्न सक्ने वा प्रहरी सङ्गठनकै प्रतिष्ठामा आँच आउने भएमा ।
(७) उपनियम (४) बमोजिम निलम्बन अवस्थामा रहेको प्रहरी कर्मचारीले पाउने तलब भत्ताको आधा रकम मात्र पाउनेछ ।
(८) कुनै फौजदारी अभियोगमा वा ऐन अन्तर्गतको कसूरमा गिरफ्तार भई थुनिएको वा त्यस्तो आरोप लागेको प्रहरी कर्मचारी साधारण तारेखमा छुटेको अवस्थामा बाहेक मुद्दाको .... किनारा नलागेसम्म स्वतः निलम्बनमा रहनेछ । तर,
(क) निलम्बित प्रहरी कर्मचारी उपर लागेको अभियोग प्रमाणित नभई सफाइ पाएमा निजले सो अवधिको निलम्बन रहेका अवस्थामा आधा तलब पाएको भए सो कट्टा गरी र नपाएको भए पूरै तलब (तलबवृद्धि हुने भएमा सो समेत) पाउनेछ । कसूरदार
ठहरिएमा निलम्बन भएका मिति देखिको बाँकी तलब भत्ता पाउने छैन ।
(ख) कुनै प्रहरी कर्मचारी सरकारी कामको सम्बन्धमा वा कुनै कर्मचारीलाई तोकेको दायित्व पालनको क्रममा नेपाल सरकारबाट भएको कारबाही स्वरूप निलम्बन भएको नभई अरू नै कारणबाट स्वयं निलम्बन हुन गएको रहेछ भने त्यसरी निलम्बन रहेको
अवधिको तलब भत्ता पाउने छैन । तर निजले अभियोगबाट सफाइ पाएमा उक्त निलम्वन अवधिभरको तलबभत्ता पाउनेछ ।
(८क) उपनियम (८) बमोजिमको अभियोग वा कसूरमा गिरफ्तार भई थुनामा रहेको कारणले कुनै प्रहरी कर्मचारी निलम्बन भएकोमा त्यस्तो अभियोग वा कसूर सम्बन्धमा मुद्दा नचल्ने अन्तिम निर्णय भएमा स्वतः निलम्बन फुकुवा हुनेछ ।
(९) कुनै प्रहरी कर्मचारीउपर नेपाल सरकार वादी हुने कुनै फौजदारी अभियोगमा कुनै अधिकार प्राप्त निकायले निलम्बनका लागि लेखि पठाएमा त्यस्तो प्रहरी कर्मचारीलाई अधिकार प्राप्त अधिकारीले निलम्बन गर्नु पर्नेछ र सो को जानकारी सम्बन्धित निकायलाई दिनु पर्नेछ ।